– अभिशेक सापकोटा
विश्वव्यापी रूपमा रहेको कोरोना भाइरसको माहामारी पछि चमेरो पनि बढो प्रख्यात भएको छ । चमेराबाट कोरोना भाइरस मान्छेमा संक्रमण हुन्छ भन्ने मान्यता धेरै मानिसहरूमा छ । त्यसपछि त झनै चमेरा प्रति नकारात्मक धारणा बढ्दै गएको पाइन्छ । चमेरालाई भाइरसहरूको खानी पनि भनिन्छ, अर्थात् यिनीहरूमा थुप्रै प्रकारका भाइरस पाइन्छन् । तर, चमेरामा भएको कोरोना भाइरस सिधै मानिसमा सर्दैन । त्यसका लागि अर्को कुनै जीवित जनावरको माध्यम चाहिन्छ । त्यस्तै मानिसमा आइसकेको भाइरस जतिसुकै महामारी भए पनि उत्परिवर्तन नहुँदासम्म अर्को जीवमा सर्दैन ।
चमेरा विश्वमै एक मात्र त्यस्तो स्तनधारी जनावर हो जुन उड्न सक्छ त्यसैले मानिसहरु झुक्किएर यसलाई चरा पनि भन्ने गर्दछन् । यिनिहरु दिनको समयमा अग्ला–अग्ला रुखहरु, गुफा, सुरुङ, नहर, इनार, खेतबारी, खुल्ला मैदान र नयाँ तथा पुराना घरहरूमा झुन्डिएर बसेका हुन्छन् र साँझ परेपछि सिकार गर्न उड्ने गर्दछन् । हालसम्म नेपालमा ५२ प्रजातिका चमेराहरु पाइन्छन् । नेपालमा पाइने चमेराहरु मुख्यत किरा–फट्याग्रा खाने र केहीले भने फलफूल खाने गर्दछन् ।
चमेरा पारिस्थितिकीय प्रणालीको एक महत्वपूर्ण जनावर हो । चमेराले बोटबिरुवाको परागसेचन र बिउ विसर्जन गर्नमा ठूलो भूमिका खेल्दछन् । जसले गर्दा खालि ठाउँमा नयाँ जंगलको पुनः विकास हुन्छ । राति सक्रिय हुने किराहरुको संख्या नियन्त्रण गरेर किरा नियन्त्रणको खर्च पनि कम गराउछन् । हानिकारक किरा फट्यग्रा साथै सड्न लागेका फलफूलहरूलाई अति उपयोगी प्रांगारिक मलमा परिणत गरि किसानहरुलाई दोहोरो फाइदा पु¥याउँदछन् । सर्प, लाटोकोसेरो, चिल, बाज आदिको शिकार भई पारिस्थितिकीय प्रणालीलाई सन्तुलित गराउँछ ।
तर विगतका केही वर्षदखि चमेराहरु प्रति धेरै गलत धारणाहरू बढ्दै गएका छन् । तिनिहरूको संरक्षणमा पनि चासो कम हुँदै गइरहेको पाइन्छ । चमेरा बस्ने वासस्थानको विनाश, चमेराको मासु खाने अभ्यास, न्युन प्रजनन दरका कारण उनीहरुको संख्या घट्दो छ । यिनै कारणले होला आजकल चमेराहरु पहिले जस्तो नदेखिने र संख्या पनि घटेको पाइन्छ । देशमा वन्यजन्तु अध्ययन र संरक्षणका हिसाबले पनि चमेराहरु ओझेलमा पर्दैछन् ।
चमेरा संरक्षणको लागि वासस्थानको संरक्षण आवश्यक छ । गुफा, रुखहरु, पुराना घरहरू आदि जस्ता स्थान धेरै खल्बलाउन हुदैँन । अध्ययन, अवलोकन गर्दा चमेरालाई क्षति नपु¥याउने काम गर्नुपर्छ । समुदायमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्छ । रासायनिक मलको प्रयोग कम गरि प्राङ्गारिक मललाई प्रोत्साहन गर्नुपर्छ । चमेरा देखेमा नमार्ने र घर भित्र पसेको खण्डमा झयाल, ढोका खोलिदिने आदि जस्ता कामहरू गरियो भने चमेरा र मानिसहरू दुबैको फाइदा हुनेछ । अझै पनि सचेत नभए र संरक्षणमा नलागेमा चमेराको संख्या घट्दो क्रम जारी रहनेछ । त्यसले चमेराको अस्थित्वमा नै प्रश्न उठ्दछ । फेरि पहिले जस्तै चमेरा कहिले देखिएलान?
(अभिशेक सापकोटा, अहिले फोरेष्ट्री स्नातक तहमा अध्ययनरत छन्। वन्यजन्तुको अध्ययन र संरक्षणमा काम गर्दै आउनुभएको छ )
Related News
सम्बन्धित समाचार
सोंथर बेँसी तथा सोंथर बेँसी टारी बजार मेला २०७९ बारे छोटो परिचय
गण्डकी प्रदेशको स्वास्थ्य अवस्थालाई नजिकबाट आँकलन गदैं सचिव डा. तिवारी
तिम्रो हात त बचाएका थियौं तर तिमीलाई बचाउन सकिएन
यस्तो हुदैछ नेल्टाको स्थापना दिवस
स्मार्ट पोखराको शिलान्यास कहिले मेयरसा’ब ?
Archives
Archives