मन्त्री केसीद्धारा चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

राष्ट्र न्यूज सम्वाददाता
असाेज ३, २०८१
prakash kc

पोखरा, ३ असोज ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका–२५ हेमजा मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गर्नुभएको छ ।
करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गर्नुभएको हो । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर र चौडाइ एक मिटर छन् ।
पुलको उद्घाटन गर्दै मन्त्री केसीले पर्यटकीय र कृषिलाई आधारित मानेको चौर अम्बोट झोलुङ्गे पुल उद्घाटन गर्न पाउँदा निकै हर्षित भएको बताउनुभयो । उहाँले सम्झौताअघि नै निर्माण सम्पन्न गर्ने निकाय लगाएत सबैलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता विकास निर्माणका कार्यले निरन्तरता पाउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
योजनाहरुको काम तीव्र गतिमा अगाडि बढाउन मन्त्रालय मातहतका कार्यालयलाई निर्देशन दिएको मन्त्री केसीले बताउनुभयो । ‘भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका मातहतमा रहेका सम्पूर्ण कार्यालयलाई सम्पूर्ण योजनाको काम तीव्र गतिमा गुणस्तर कायम गर्दै सुचारु गर्न निर्देशन दिएको छु,’ उहाँले भन्नुभयो, ‘आफ्नो क्षेत्रमा परेका योजनाहरू समयमा नै तोकिएको गुणस्तरमा सम्पन्न गर्नको लागि खबरदारी गर्नुहोला ।’
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई सोभियत खड्का, कार्यवाहक वडाध्यक्ष धनाकुमारी तिमल्सिना पोखरेल तथा वडासदस्य, क्लब, आमासमूह लगाएतको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives