क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ – मन्त्री थापा

राष्ट्र न्यूज सम्वाददाता
असाेज ११, २०८१
IMG_0476

पोखरा, ११ असोज । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताउनुभएको छ। नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धी प्रशंसनिय रहेको उल्लेख गर्नुभयो ।
‘क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं । हाम्रो भावनालाई मजबुत बनाएको छ’– उहाँले भन्नुभयो । सम्पूर्ण खेलाडी र क्यान परिवारलाई बधाई दिँदै मन्त्री थापाले खेलकुदको विकासमा खेल संघसंस्थाहरुको सक्रियता र योगदान अनुपम र उदाहरणीय रहेको बताउनुभयो ।
सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्र मिलेर नै नेपालको खेलकुदको विकासमा गति बढाउन सकिने उहाँको भनाई थियो । नेपालको संविधान २०७२ ले खेलकुुद क्षेत्रलाई तीन तह संघ, प्रदेश र स्थानीयको जिम्मेवारीमा सुम्पिएको र राष्ट्रिय खेलकुद निकाय ऐन २०७७, प्रदेश खेलकुद विकास ऐन २०७७ र स्थानीय कानून निर्माण भएको उहाँले जानकार दिनुभयो ।
खेल सम्बन्धि संघसंस्थाहरुको पनि स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संघीय संरचना निर्माण भएको हुँदा सबै संघसंस्थाहरुले आ—आफ्नो साधारण सभा मार्फत अध्यावधिक हुनुपर्ने बताउँदै उहाँले नेपाल क्रिकेट संघको थालनी अनुकरणीय र उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल संघसंस्थाहरुको नियमन र संचालनका लागि मापदण्ड लागु गरेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद र संघीय सरकारका गण्डकी प्रदेश भित्र रहेका खेलकुद पूर्वाधारहरुको निर्माण र मर्मत सम्भार सँगै व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश खेलकुद परिषदसँग समन्वय गनुपर्ने उहाँको भनाई थियो ।
उहाँले गण्डकी प्रदेश सरकारको २०८० चैत ९ गतेको निर्णयले तनहुँको शुक्लागण्डकी नगरपालिका ८ गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको र यसले पोखरा र चितवन भरतपुरको खेल मैदानलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एनपीएलका लागि टीयुुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराउनुभयो ।
नेपाल क्रिकेट संघका महासचिव पारस खड्काले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्दै जिल्ला स्तरबाट नै व्यवसायिक रुपमा खेलाडीलाई जोड्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर कँडेले क्रिकेटले खेलले नेपालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताउनुभयो ।कार्यक्रम क्यानका अध्यक्ष चतुुर बहादुर चन्दको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives