टाइगर कप भलिबलः आयोजक टोलीबाट खेल्न ३ विदेशी खेलाडी पोखरा आइपुगे

राष्ट्र न्यूज सम्वाददाता
माघ १०, २०८१
473002551_1151040046471168_8027400731403501801_n

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् । थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजकबाट टोलीबाट टाइगर कप खेल्न बिहीबार साँझ पोखरा आइपुगेका हुन् । उनीहरुलाई स्वागत गर्न कप्तान अरुणा शाही, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसीसहितका टोली पोखरा विमानस्थल पुगेका थिए ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोली सहभागी बनाउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् ।

टोलीमा तीन विदेशीसहित राष्ट्रिय यु–२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यू–२० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।

माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित एक विदेशी गरी ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोली पनि विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । पुरुषतर्फ पनि एक विदेशीसहित ६ टोली सहभागी भएका छन् ।

Related News

सम्बन्धित समाचार