व्यापार मेलामा सम्भावनाको बहस

‘पाखुरीमा दम भए, देशमै रोजजारी सम्भव छ’

राष्ट्र न्यूज सम्वाददाता
माघ १३, २०८१
IMG_0416 (1)

पोखरा । सूत्रधार तथा पत्रकार गोविन्द सुवेदीले कार्यक्रमको सुरुमै स्याङ्जाका अगुवा कृषक फणिनारायण अर्याल तथा व्यवसायी कोमलजंग कुँवरको दृष्टान्त पेश गर्दै भने, ‘अर्यालले सुन्तला खेतीबाट वार्षिक ८५ लाख कमाउनुहुन्छ । १२ वर्षअघि ठेलाबाट व्यवसाय सुरु गर्नुभएका कुँवरले अहिले ७ सय २० जनालाई रोजगारी दिनुहुन्छ । ड्याडीज किचनका अहिले देशभर २२ वटा शाखा छन् ।’

पत्रकार सुवेदी पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला २०८१ को छेकोमा आयोजना गरेको ‘पाखुरीमा दम भए, यहीँ सबै छ !’ भन्ने शीर्षकमा सिटीइभिटीअन्तर्गतको पोखरा प्राविधिक शिक्षालयका प्रिन्सिपल हर्कलाल श्रेष्ठ,पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रका निर्देशक नवराज अधिकारी र पोखरा इलेक्ट्रिक क्लबका अध्यक्ष अमृत पोखरेलसँग गफिँदै थिए ।
संघका महासचिव शोभा गौतमका अनुसार संघले उद्यमशिलता सिकाउन तथा युवाहरु देशमै अडिने वातावरण निर्माणका लागि यो अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरसंवादको सुरुमै पाखुरीमा दम भए नेपालमै केही गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु नै कार्यंक्रमको ध्येय रहेको प्रष्ट पार्दै सूत्रधार सुवेदीले विद्युतको क्षेत्रमा के कस्तो सम्भावना छ भन्ने जिज्ञासा जोडे ।

उत्तरमा पोखरा इलेक्ट्रिक क्लबका अध्यक्ष पोखरेलले भने,‘राज्यले पूर्वाधारमा जति लगानी गर्छ, विद्युतको काम पनि बढ्छ । यहाँ अहिले ३ सय जतिले विद्युतको काम गरिरहनुभएको छ तर तीमध्ये धेरै पलायन हुने अवस्थामा छन् । यहाँ होटल बन्द छन्, काम घटेको छ । भविष्य छैन भन्ने सोचेर उहाँहरुले देश छाड्नु भएको हो ।’

पत्रकार सुवेदी व्यवसाय प्रवद्र्धन केन्द्रका निर्देशक नवराज अधिकारीतर्फ सोझिए । उनले सोधे, तपाईंकहाँ विदेश जाने भनेर आउँछन् कि यहीँ केही गरौँ भनेर तालिम खोज्न आउँछन् ?

उत्तरमा निर्देशक अधिकारीले भने, ‘स्थानीय तहले अपनत्व महसुस गर्ने गरी कार्यक्रम ल्याएको हो– सीपमूलक तालिम । यो ७ सय ५३ वटा पालिकामध्येकै नूतन कार्यक्रम हो । हामीले तालिममात्र दिएर हुँदैन, तालिमसँगै उसलाई उद्यमी बनाउन सकेनौँ, व्यवसाय प्रवद्र्धन हुन सकेन भने त्यसले परिणाम दिँदैन । रोजगारी सिर्जना हुँदैन भन्नेमा हामी प्रष्ट छौँ । हाम्रो कार्यलयमार्फत् १४ सयलाई तालिम दिइसकेका छौँ ।’

पालो आयो,पोखरा प्राविधिक तालिम केन्द्रका प्रिन्सिपल हर्कलाल श्रेष्ठको । उनले भने, ‘नेपालमा सम्मानका साथ रोजगार पाइन्छ भन्ने ग्यारेण्टी हुनुप¥यो । हामीकहाँ हालैमात्र ६० प्रतिशत व्यक्ति पासपोर्ट र भिसा लिएर बारिष्टा तालिम लिन आउनुभयो । आइएलटीएस गरेर भिसा बोकेर आउनुभयो । ७ सय जना जति आउँदाको अवस्था हो,यो ।’

कार्यक्रममा कसले के भने ?

अमृत पोखरेल,अध्यक्ष पोखरा इलेक्ट्रिक क्लब
तालिममा पनि समस्या छ । दुई दिनमा सक्नुपर्ने भन्दै तालिम दिइन्छ । शिशु कक्षामा गएको बच्चालाई एसइईको सर्टीफिकेट दिनुहुन्छ । मेरोमा नै डेढ सयवटा जति सर्टीफिकेट छ ।
कसको कति बजेट थियो, त्यो बजेट सक्नको लागि तालिम नगरौँ । दक्ष जनशक्ति उत्पादन गर्नको लागि कम्तिमा ३ महिनाको तालिम दिऊँ न । सीप दिनुहुन्छ भने २÷३ महिनाको तालिम दिनुहोस् । बिहान समय छैन भने साँझ दिनुहोस् । साँझ नभए बिहान दिनुहोस् तर सिकाएर नै छोड्नुहोस् ।
बर्खाको बजेट, हिउँदोको बजेट भनेको छ । त्यो सकेको छ । बिग्रेको सामान पहिले बनाउन सक्नुपर्छ भन्ने हाम्रो लक्ष्य छ । बिग्रेको सामान बनाए पो देशमै पैसा रहन्छ त । नयाँ किन्यो भने त फेरि पैसा विदेश नै जाने होला !
विद्युत क्षेत्रमा कति रोजगारी सम्भव छ त ?

हामीसँग अहिले बजारमा सय जनाको माग छ भनिरहँदा ऊसँग भएको सीप कस्तो छ भन्नेमा कुरा गरेको हो । यहाँ तीन सयजनाको माग छ । सुरुमा एउटा साथीसँग काम सिक्यो,दुईवटा घरमा बिजुलीको काम गरेपछि ऊ आफैं ठेकेदार भइहाल्यो नि । अहिलेको आइटीको जमाना यस्तो संवेदनशील छ कि,कसको सामान कसले बेच्ने हो भन्ने पनि छैन । एउटै पङ्खा भाँडा पसलमा पनि देख्नुहुन्छ । कस्मेटिकमा पनि देख्नुहुन्छ बिजुली पसलमा त हुने नै भयो । कुन काम कसले गर्ने र को दक्ष हो कि हैन भन्ने निर्धारण हुनुप¥यो । घर कसैले घर बनाउँदै हुनुहुन्छ भने हामीसँग सोध्नुहोस् न । हामी ग्रेडिङ गरिदिन्छौँ न त । घर बनाउने साहुजीसँग सर यसरी नगरौँ न भन्दा म करोड रुपैयाँ लिएर घर बनाउँदै छु, मलाई सिकाउने भन्ने प्रश्न गर्नुहुन्छ । अनि कसरी श्रमको सम्मान हुन्छ ? तर, एउटा कुरा के हो भने, दक्ष हुँदा काम जत्ति पनि छ । आधा ज्ञानले चाहिँ हुँदैन ।

नवराज अधिकारी,निर्देश व्यवसाय प्रवद्र्धन केन्द्र
विदेश जाने भनेर आउँछन् कि यहीँ केही गरौँ भनेर तालिम खोज्न आउँछन् ?

स्थानीय तहले अपनत्व महसुस गर्ने गरी ल्याएको कार्यक्रम हो, सीपमूलक तालिम । यो ७ सय ५३ वटा पालिकामध्येकै नूतन कार्यक्रम हो । हामीले तालिममात्र दिएर हुँदैन, तालिमसँगै उसलाई उद्यमी बनाउन सकेनौँ, व्यवसाय प्रवद्र्धन हुन सकेन भने त्यसले परिणाम दिँदैन । रोजगारी सिर्जना हुँदैन भन्नेमा हामी प्रष्ट छौँ । हाम्रो कार्यलयमार्फत् १४ सयलाई तालिम दिइसकेका छौँ । छोटा तालिमहरुले अर्धदक्ष जनशक्ति उत्पादन गर्ने र प्रतिष्ठानहरुलाई रोजगारी दिने हो । हिजो मोवाइल रिपेयरिङजस्ता तालिम थिएँ । अहिले एआइ र आइटीसम्बन्धी तालिमको माग गर्नेहरु बढेका छन् । म विद्यार्थी हुँ, बिहान म पढ्छु । दिनभर काम नपाएर घरमै बस्नुपर्ने मोवाइल हेरेर दिन बिताउने अवस्था छ । त्यस्तोमा उहाँहरुले दिनभर घरमै बसेर गर्न मिल्ने काम खोज्नेहरु बढेको अवस्था छ ।

कहाँ गएर सिक्ने सीप ?

हिजो व्यावसायिक तालिम भन्नासाथ सिटीइभिटीको नाम अग्रपंक्तिमा आउँथ्यो । उसले तालिम दिन्थ्यो । एउटा तहसम्मको तालिम दिएर,सीप प्रशिक्षण गरेर उसलाई बजारमा पठाउँथ्यो । पछिल्लो समयमा सिटीइभिटीले र स्थानीय तहले के गर्ने भन्ने प्रष्ट भएन । व्यवसाय प्रवद्र्धन केन्द्रले स्थानीयस्तरमा जनशक्ति उत्पादन गर्ने गर्छ । वर्षमा हामी छोटाखाले तीन किसिमका तालिम गर्दै आइरहेका छौँ । हामीलाई यस्तो खालको जनशक्ति आवश्यक छ भनेर आउनुभयो भने पनि हामी सहकार्य गर्छौ ।

तालिम लिइसकेपछि के गरिरहेका छन् उनीहरु ?

पोखराको जनसंख्या ५ लाख १३ हजार छ । डाटा हेर्ने हो भने तालिम लिएको जनशक्ति पनि उत्तिकै छ । हामीले तालिम दिएका सबै विद्यार्थीसँग हामी प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ ।

३८ प्रतिशत रोजगारीमा हुनुहुन्छ । १० प्रतिशत स्वरोजगार हुनुहुन्छ । १२ प्रतिशत जति चाहिँ अन्य देशमा गएको देखिएको छ । सबै हेर्दा ६० प्रतिशत जतिले कतैबाट सहयोग पाए आफै काम गर्छु भन्नेमा हुनुहुन्छ ।

हामी तालिममा दिँदैनौँ । इन्टर्नसीपको व्यवस्था गर्छौँ । आजमात्र हामीले फोटोग्राफी तालिम समापन गरेका छौँ । एक महिना तालिम सिकेकामध्ये ८ जनाले काम पाइसक्नुभएको छ ।

तालिममात्र दिने हो त ?

वैदेशिक रोजगारमा जानेहरुलाई हामी तालिम दिएका छैनौँ । सैलुनको तालिममा २० जना माग्यो भने २ सय जना त पुग्छ÷पुग्छ । व्यवसाय प्रवद्र्धन केन्द्रले तालिममात्र दिँदैन,अनिवार्य इन्टर्नसीप गर्नुपर्छ । त्यसो गरेपछिमात्र हामी प्रमाणपत्र दिन्छौँ ।

१४ हजार जनशक्ति चाहिएको भनेको छ,पर्यटन क्षेत्रले । व्यवसायीका पनि समस्या होलान् । राज्यको नीति पनि बाधक होला । ३९० घण्टाको तालिम सकौँ र म्यानपावरमा लगेर पासपोर्ट बुझाउँला भन्नेहरुले पनि समस्या पारेका छन् । बेकरी, ग्रिन इकोनोमी, जलस्रोतमा पनि तालिम माग भएका छन् । डिजिटल मार्केटिङ, एआईमा पनि माग छ ।

आफूलाई चाहिएको जति समय जागिर दिने वा जागिर खाने व्यवस्था भए केही सहज हुन्छ भन्ने हो । यसको लागि संघ, प्रदेश र स्थानीय तहले सोच्नुपर्छ । एउटा छिमेकी मुलुकबाट आउने व्यक्तिले यहाँबाट हरेक महिना १ लाख पठाउँदै आएको छ भने हामीले ४० हजार कमाउन पनि विदेशमा श्रम बेचिरहेको अवस्था छ ।

तालिम परम्परागत भएर त हैन ?

हामीले आफैंले पाठ्यक्रम बनाएर पञ्चेबाजाको तालिम दिएका छौँ । सीमान्तकृत समुदायलाई माथि उठाउन र रोजगार दिनको लागि हामीले यो कोर्स बनाएका हौँ । तालिमका कोर्सहरु अब परिवर्तन गरिनुपर्छ । २०१४ मा बनेका कोर्सलाई २०२५ सम्म पनि राख्नु न्यायोचित हुँदैन भन्ने सबैले महसुस गर्नुपर्छ । हामीले खोलेका तालिममा मान्छे पाइएन भन्ने छैन भन्नु नै तालिम राम्रो भएर होला नि ।

नेपालमा धेरै कुराको सम्भावना छ । सुनचाँदीका गहना हुन् वा कपाल नै काट्ने काम किन नहोस् । चाहे, कला संस्कृतिको संरक्षण गर्दै नौमती बाजा बजाउने वा सारड्गी बजाने पेशा नै किन नहोस् ! यहाँ श्रमको सम्मान गर्ने प्रचलन छैन । श्रमको सम्मान नहुँदा यहीँ केही हुन्छ भन्ने जान्दाजान्दै पनि विदेश जाने प्रचलन छ ।

पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रले यहाँसँग आइडीया छ भने पैसा हुने र दिमाग हुनेलाई भेटाउने व्यवस्था छ । सीप दिने,चाहनुहुन्छ पूँजी पनि दिने व्यवस्था मिलाएको छ । पोखरामा व्यवसाय दर्ताको दर असाध्यै न्यून देखिन्छ । हामी नबुझेर व्यवसाय सुरु गर्छौँ र नबुझेर गरिएको व्यवसाय बिग्रेपछि छाडेर जान्छौँ । मान्छे, पशु बिरामी हुँदा अस्पताल वा भेटेनरीमा उपचार हुन्छ । तर, व्यवसाय बिग्रेपछि उपचार हुने ठाउँ छैन । हामीले व्यवसाय बिरामी हुँदा उपचार गर्ने उद्यम क्लिनिक भनेर संचालन गरेका छौँ । व्यवसायको हेल्थ चेकअप गर्न डेक्सको व्यवस्था गरेका छौँ । अबका वर्षमा संघ सरकारले पनि यो कार्यक्रम अगाडि बढाउने भन्ने हामीले सुनेका छौँ ।

हर्कलाल श्रेष्ठ, प्रिन्सिपल, पोखरा प्राविधिक शिक्षालय

सिटीइभिटी मूलतः पर्यटन क्षेत्रलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था हो । ३० वर्षदेखि यसले पर्यटन क्षेत्रलाई चाहिने जनशक्ति उत्पादन गरिरहेको छ । अहिलेसम्म हामीले ११ हजारभन्दा बढी युवायुवतीलाई दक्ष बनाएर बजारमा पठाएको छ । हाम्रा ७२ प्रतिशत विद्यार्थी रोजगारीमा छन् । ५० प्रतिशत देशमै स्वरोगारमा जोडिएका छन् भने बाँकी विदेश गएका छन् । उहाँहरुको आम्दानीमा कुनै समस्या छैन ।

सिटीइभिटीले स्वास्थ्य, कृषि, होटल म्यानेजमेण्ट र इञ्जिनियरिङमा तालिम दिएका छौँ । ८० वटा संस्थाहरुले हामीसँग सम्बन्धन लिएर पनि काम गरिरहेका छौँ । हामीलाई अहिले श्रम बजार हेरेर हामीले जति कोटा निर्धारण गरेका छौँ,त्यति चाहिँ भर्ना हुन आउँदैनन् । तर, केही विधामा असाध्यै माग छ । स्वास्थ्यमा नर्सिङसहित अन्य विधामा अत्यन्त माग छ । होटल म्यानेजमेण्टमा पनि त्यस्तै माग छ । ६० जनाको विज्ञापन गर्दा ७७२ जनाले होटल म्यानेजमेण्टमा फाराम भर्नुभयो । श्रम बजारमा धेरै अवसर भएकोमा युवाको आकर्षण छ । कृषि र इञ्जिनियरिङमा आकर्षण कम देखिएको छ । भर्ना कम छ ।

सफल नभएर बाकसमा फर्केका दुखान्तहरु पनि छन् । देशमै काम गरौँ भन्ने सोच विकास गराउन हामीले किन सकेनौँ, हामी कहाँ चुक्यौँ ? निस्केको जनशक्तिको टार्गेट वैदेशिक रोजगारी भन्ने छ । यो समस्या समाधानको लागि राज्यले नै नीतिगत निर्णय गर्नुपर्छ । यहाँ भएका रोजगारदाताले पनि दिनुपर्ने जति न्यूनतम पारिश्रमिक दिन चुकेको अवस्था छ । अर्को कुरा नेपालमै श्रम गर्नेलाई जुन सम्मान दिनुपर्ने हो, त्यसमा चुकेको हो कि ? जो सीप लिएर नेपालमै काम गरिरहनुभएको छ, । उहाँहरुलाई सम्मान दिनुपर्छ ।

नेपालमा जति पनि अवसर छ । पर्यटनको राजधानी पोखरा भइसकेपछि माउण्टेयरिङ,एडभान्चर टुरिजमको माग छ । अब पाखुरीमा दम भए यहाँ रोजगारी सम्भव छ ।

सिटीइभिटीको पाठ्यक्रम समानुकूल बनेको छ ?

पाठ्यक्रम परिमार्जन सिटीइभिटीले हरेक ५ वर्षमा पाठ्यक्रम रिभिजन गर्छ । अहिलेको साइन्स एण्ड टेक्नोलोजीले दिनदिनै परिवर्तन गरिरहेको छ । नीतिगत निर्णयका कारण हामी पाँच÷पाँच वर्षमा गरिने रिभिजनलाई मान्न बाध्य छौँ तर बजारमा नयाँ प्रविधि आवश्यक छ भने त्यसलाई थप्न मिल्ने प्रावधान राखेका छौँ । पाठ्यक्रम पाँच÷पाँच वर्षमा रिभिजन गर्दा पाखुरीमा दम भर्नमा कठीनाइ भएको छ ।

२०५३ सालदेखि स्थापित भएको स्कूलले पोखरामा मात्रै ११ हजार विद्यार्थी उत्पादन गरेको छ । पर्यटन र सेवासँग सम्बन्धित कोर्सहरु पढ्ने
तीन वर्षे होटल म्यानेजमेण्ट पढेको एउटा भाइले न्यूरोडमा रेष्टुरेण्ट राखेका छन् । उनका पिता मकाउमा हुनुहुन्थ्यो,अहिले छोराको बिजनेसलाईं सघाउनुहुन्छ । अहिले उहाँले १४ जना स्टाफलाई रोजगारी दिनुभएको छ । उहाँ महिनामा ३ लाख बचाउनुहुन्छ । खासमा हामी जागिर खोज्ने हैन कि जागिर दिने सोचबाट निर्देशित हुनुपर्छ ।

हामीले पढ्दै गरेको र पढाइ सकेको विद्यार्थीलाई कुन काम गर्ने भनेर सिकाउँछौँ । हामी इन्कुभेसन एण्ड बिजनेस युनिटले योजना बनाउँछ र त्यो प्लान फेल भयो भने प्लान बी के त भनेर पनि सिकाउँछौँ । हामीले बैंक तथा वित्तीय संस्थासँग पनि समन्वय गराउँछौँ । नेपाल र पोखराको सन्दर्भमा यति सुन्दर ठाउँमा बसिरहेको अवस्थामा चाहने हो भने जे पनि गर्न सक्छौँ । धेरै अवसरहरु छन् । खोज्ने क्रममा गहिरो अध्ययन हुनुपर्छ । त्यसका लागि आ–आफ्नो क्षेत्रमा योगदान गर्नुपर्छ । तपाईंसँग अनौपचारिक सीप छ भने पनि त्यसको प्रमाणिकरण गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्ने प्रमाणपत्र दिन्छौँ । सीप दिने मामिलामा हामी हरदम तयार छौँ ।

Related News

सम्बन्धित समाचार