जनकपुरमा माघको २५ देखि लाटोकोसेरो तथा हुचील उत्सव हुने

राष्ट्र न्यूज सम्वाददाता
माघ १५, २०८१
2373347a-ab0d-4581-997c-c9cbd9b37601

पोखरा । धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीका वडा नं २ र ३ मा १२ औं सस्कंरणको नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुने भएको छ । सहभागिको लागि प्रवेश निशुल्क रहने यो उत्सव माघ २५ र २६ गते सम्म चल्ने प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।
मिथीला वाइल्डलाइफ ट्रष्ट र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा हुने उत्सव चन्देश्वर आधारभुत विधालय नजिकै हुनेछ ।

आचार्यका अनुसार उत्सवलाई सफल बनाउनका लागि देव नारायण मण्डलकोे संयोजकत्वमा ७ सदस्यीय नेपाल लाटोकोसेरो तथा हुचील उत्सव आयोजक मूल समिति र थप ८ वटा उपसंयोजक सहितका समितीहरु पनि बनाइएको छ ।

उत्सव शुरु हुनु अघि विभिन्न स्थानिय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिवीरहरु सञ्चालन भैरहेका कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । उत्सवको दिनमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी र वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुको लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच तथा नाटकको प्रदर्शन गरीनेछ ।

उत्सवमा स्वागत गीत, स्थानीय विधालयहरुको नाँच, झिझिया नाँच, झरि झरि नाँच , स्थानिय बाद्यबाद्यन, सामा चखेवा, रामसिता गित, तमाड्ड सेलो, डम्फु नाँच, महराई आदिको प्रर्दशनी हुनेछ । त्यसैगरी स्थानीय खेलहरु कुस्ती, कबड्डी, टालपुली, तिती आदि समेतको प्रदर्शनी हुनेछ।

नगरपालीका स्तरिय स्थानिय विधालयहरुमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता समेतको आयोजना गरिएको छ। सो अवधिमा लाटोकोसेरो तथा हुचीलको अस्थाई सग्रहालयको निर्माण तथा प्रदर्शनी हुनेछ ।

सोही प्रदर्शनीमा लाटोकोसेरो सम्बन्धी जानकारी र फोटोहरुको प्रदर्शनी गरिने छ । गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट, काठबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने छन् ।

आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा अनुहारमा निशुल्क रुपमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ ।

उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ। त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालयबाट ल्याइएका लाटोकोसेरोको नमुनाहरुपनि प्रदर्शनीमा राखिने छ। सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरुको प्रस्तुति गर्नेछन् । वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरुको जानकारीमुलक स्टलहरु र स्थानिय रुपमा उत्पादन भएका सामाग्रीहरुको पनि प्रदर्शनी तथा विक्रीवितरणको समेत व्यवस्था हुनेछ । रैथाने खाना र खाजाका परीकारलाई विशेष प्राथमिकता दिइने छ ।

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार तथा संस्थागत र स्थानिय सम्मान

उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरिने छ । संरक्षणकर्मीहरुलाई जनही नगद रु. २५ हजार सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । यस वर्ष पुरस्कृत हुनेहरुमा सहायक प्राध्यापक, केन्द्रीय प्राणीशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौका डा. हरि प्रसाद शर्मा, पोखराका हेमन्त ढकाल, पत्रकार अभय राज जोशी र धादिङका भुमिरमण नेपाल रहेका छन् ।

यसैगरी लामो समय देखि रेडपाण्डाको वासस्थान सुधार गर्दै चरा तथा वन्यजन्तु संरक्षणमा योगदान गरेको इलाम जिल्लाका महिलाहरुको समूह, जाँैबारी रेस्टोरेशन समीतीलाइ सम्मान गरिने छ । सो अवधिमा स्थानिय तहमा रहेर प्रकृति, वन्यजन्तु फोटोग्राफी ,पर्यापर्यटन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका जनकपुरधामका चिकीत्सक डा. एसके सिँह, जलेरश्वर निवासी पत्रकार रन्जण भण्डारी माली र ढल्केबार ६ का पत्रकार विजयकुमार शाहलाई पनि ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरिने छ।

नेपाल लाटोकोसेरो तथा हुचील उत्सव किन ?

ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गर्दछ । औषधी र झारफुकको अन्धविश्वास तथा भ्रम श्रृजना गरेर तस्करहरुले लाटोकोसेरोहरुको अवैध व्यापार गर्ने गर्छन। तर लाटोकोसेराको कुनै पनि अंगको औषधीय उपयोग र अदृष्य तान्त्रीक शक्तिबारे वैज्ञानिक आधारहरु छैनन् ।

प्रकृतिका साथीहरु नामक संस्थाले ४६ वटा जिल्लामा १६ वर्ष अघि गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २ हजार वटासम्म लाटोकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रूपमा पठाइने गरेको भेटिएको थियो । अहिलेपनि यो सँख्या १ हजार ५ सय रहेको अनुमान गरीएको छ । गुलेलीको प्रयोग गरि लाटोकोसेरो लगायत चराहरु मार्ने गरीन्छ । अहिलेसम्मको अध्ययनले २५ प्रतिशत विद्यार्थीहरुले गुलेली प्रयोग गर्ने गरेको भेटिएको छ । मानिसहरुले लाटोकोसेरोको बच्चाहरुलाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ ।

यसका अतिरिक्त लाटोकोसेरोको वासस्थान विनाश समेत तीव्र रूपमा भइरहेको छ । नेपालमा कानुनी रूपमा लाटोकोेसेरोलाई पाल्न, दुःख दिन, बेच्न नपाइने बारे स्थानीयलाई जानकारी कम रहेको भेटिएको छ । साथै यसले कृषि क्षेत्रमा गर्ने महत्वपूर्ण योगदानबारे पनि उनीहरु अनभिज्ञ नै देखिएका छन् । चुनौतिको सामना गरीरहेका तर संरक्षणको हिसाबले ओेझेलमा परेका लाटोकोसेरो तथा हुचील प्रजातीका चराहरु जोगाउन लाटोकोसेरो तथा हुचील उत्सव गर्न लागिएको हो। उत्सवको अर्को उद्धेश्य स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने पनि हो । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ ,स्याडजा, कैलाली र पर्वत जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा मात्र मनाइन्छ ।

लाटोकोसेरो कस्तो चरा हो ?

लाटोकोसेरा प्राय राती तथा बिहान सक्रिय हुने शिकारी चरा हो । त्यसो त यसले दिउँसो पनि आँखा देख्दछ्। यिनीहरुकोे देख्ने तथा सुन्ने दुवै क्षमता अत्यन्तै राम्रो हुन्छ । यिनीहरुले रुखको टोड्को, भुइँमा तथा पहराहरुमा फुल पार्छन् र बच्चा कोरल्छन् । यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४ किलोसम्मको हुने गर्दछ । लाटोकोसेराको शरिर अत्यन्तै हलुका तथा नरम भुवाहरुले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन। यिनीहरुले आपm्नो टाउकोलाई एकापट्टिमात्रै पनि २ सय ७० डिग्रीसम्म घुमाउन सक्छन् । नेपालमा यिनीहरुको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको संख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ जसमध्ये ८ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । यसमध्ये एकवटा प्रजातीहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन् । विश्वमा करिब २ सय ६० प्रजातीका लाटोकोेसेराहरु पाइन्छन् ।

लाटोकोसेरोको के महत्व छ ?

मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा २ देखि ३ हजार वटासम्म मुसाहरु खाने गर्छन् । मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । पर्यावरणलाई सन्तुिलत राख्न पनि यिनको मुख्य भूमिका रहन्छ । यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्दछ । लाटोकोसेरोसहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकासमार्फत जिविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरुको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछन । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ ।

कसरी पुग्ने उत्सव स्थल?

नेपालको जुनकसुकै स्थानबाट आउँदा जनकपुर नपुग्दै (करिब ३ किलोमीटर वर) मुजेलिया चोक नजिक भाटभटेनी सुपरमार्केट रहेको छ । दाहिनेपट्टी रहेको सो सुपरमार्केट भन्दा केहि अगाडि बाबा पेट्रोल पम्प रहेको छ । सो पेट्रोल पम्प भन्दा पारीको बाटो प्रयोग गरियो भने धनुषाधाम पुगिन्छ । टेम्पो वा बसमा जाँदा धनुषाधाम जानेबाटोमा कल्चरल भिलेज वा शहिद चोक पर्छ जुन करिब १० किलोमीटरको दुरिमा रहेको छ । कल्चरल भिलेजमा झर्नुहोला । काठमाण्डौ देखि रात्री बस, तथा दिवा हाइस बसहरु मुजेलिया चोकसम्म आउने गर्छन् । काठमाण्डौबाट छुटने केहि बसहरुले जस्तै देश दर्शन, नमस्ते, विराट ऐसि, स्टार ऐसी आदि बस कार्यक्रम स्थल (कल्चरल भिलेज वा शहिद चोक) सम्म आउने गर्छन् ।

कता बस्ने ?

कार्यक्रम स्थलबाट करिब २८ किमी पर रहेको ढल्केबार, १० किमी पर रहेको मुजेलिया चोक, वा १३ किमी पर रहेको जनकपुर क्षेत्रमा सार्वजनिक होटलहरु उपलब्ध छन् । कार्यक्रम स्थलमा रहेका सिमीत घर र कल्चरल भिलेजमा (कोठा वा टेन्ट) बस्न र खान व्यबस्था गरिएको छ, जुनमा फोन गरेर पक्का पक्कि भएपछिमात्र आउनुहोला । अन्य सबै होटलहरुबाट कार्यक्रम स्थल सम्म टेम्पोमा आउन सकिने छ ।

उत्सवस्थल वरिपरि के के हेर्ने, कँहा कँहा घुम्ने?

जनकपुर धाम, धनुषा धाम, मिथीला वाइल्डलाइफ ट्रष्ट द्वारा सञ्चालीन कल्चरल भिलेज, मिथीला बिहारी मन्दीर, परशुराम तलाव मन्दिर, कमलानदि, धनुषाधाम संरक्षीत वन क्षेत्र, ढल्केबार देखि पुष्पबलपुर हाइकिङ, जलेश्वरनाथ महादेव मन्दिर, जनकपुर जयनगर रेल, बैल गाडा घुमाइ, गाँउ भ्रमण, मियाबाकी वृक्षारोपण (प्रस्तावित धनुषा वर्डपार्क) आदि । यस क्षेत्रमा विशेष गरेर निलगाई, बदेल, रतुवा, चित्तल, फयाउरो, सहित दर्जनौ प्रजातीका चराहरु समेत अभिलेख छन । यस क्षेत्रमा स्थानिय समुदायहरुले बगिया, माछ, मखाना, पान, गुजिया, ठेकुवा, खजुरिया, धुरुवा रोटी आदि चाख मानेर खान्छन । उक्त परिकारहरु उत्सवको बेलामा स्थानिय खाजाघरमा समेत पाक्नेछन् ।

Related News

सम्बन्धित समाचार