गलेश्वर, ४ साउन (रासस) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।
पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन् । बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ ।
गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासी बताउँछन् । गत वर्षदेखि सडक निर्माण थालिएको थियो ।
कमजोर र भिरालो जमीनमा जथाभावीरूपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन् । जेठको पहिलो सातादेखि नै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् ।
विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।
सडक बनाउँदा पर्याप्त सावधानी नअपनाएका कारण बस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी टककुमारी छन्त्यालले बताउनुभयो ।
कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पूरै पाखो खस्न थालेको छन्त्यालको भनाइ छ ।
वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छन्त्यालले बताउनुभयो । “बस्तीमाथिको पाखोबाट खसेको पहिरोले घर पुर्न लागेको छ । दुई महिनायता राति निदाउन पाएका छैनौँ”, छन्त्यालले भन्नुभयो, “३५ वर्षदेखि बसेको थातथलो छोडेर कहाँ जाने ? हामीहरुलाई चिन्ता लागेको छ ।”
गत वर्षदेखि बस्तीमाथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
यहाँका कतिपय बासिन्दा घर छोडेर हिँड्ने तर्खरमा रहेका र कतिले वल्लो गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताउनुभयो ।
बस्ती जोगाउन संरक्षणको काम गर्नका लागि गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि कुनै काम नभएको स्थानीयवासी बताउँछन् ।
सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा परेको गलेश्वरवासीको भनाइ छ ।
सडक निर्माण गर्दा लापर्बाही भएका कारण बस्ती जोखिममा परेको र सडक पनि दिगो नभएको स्थानीय बुद्धिजीवी दीपक कार्की विखर्चीले बताउनुभयो । जथाभावी खनिएका सडकका कारण गलेश्वरपारिको बस्ती मात्रै होइन म्याग्दीका १९ वटा बस्तीका सयौँ घर र परिवार जोखिममा छन् ।
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives