पोखरा,१० भदौ । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सबैका लागि सरकारी स्कुल भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले नयाँ खालको शिक्षा नीति ल्याउन लागेको जानकारी गराउँदै मन्त्री थापाले अबको शैक्षिक स्तर व्यवसायिकमुखी हुनुपर्ने तर्फ जोड गर्नुभयो । उहाँले भन्नुभयो, “समाजले कस्तो खालको उत्पादन खोजेको छ, त्यस्तै प्रवृतिको शैक्षिक पद्धती हुन जरुरी छ । बजारको माग अनुसारको शिक्षा दिनुपर्ने आजको आवश्यकता हो । समयसापेक्ष शिक्षा नीतिमा गण्डकी सरकार समेत लागिरहेको छ ।”
बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भइसकेको र उक्त विधेयक मार्फत बालबालिकाको हकमा धेरै कुराको सुनिश्चित हुने जानकारी उहाँले गराउनुभयो ।
नव प्रभात माविको भौतिक र शैक्षिक गुणस्तरताको विषयमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री थापाको छ । उहाँले विद्यालयमा आधुनिक सुविधा सम्पन्न पुस्तकालय व्यवस्था गर्न प्रदेश सरकारबाट सक्दो सहयोग हुने बताउनुभयो ।
पुस्तकालयको मोडालिटी तयार गरेर प्रदेश सरकारलाई बुझाउन मन्त्री थापाले आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा पनि प्राइभेट स्कुलमा भन्दा राम्रो शिक्षदिक्षा हुन्छ भन्ने भावनाको विकास गर्न सके विद्यार्थी संख्या बढ्दै जाने विश्वास मन्त्री थापाको छ । उहाँले गण्डकी सरकार पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुदृढ बनाउन लागिरहेको जानकारी गराउनुभयो ।
शिक्षक, अभिभावक र सरकार मिलेर सामुदायिक विद्यालयमा देखिएका समस्यालाई निर्मुल पार्नुपर्ने आवश्यकता रहेको मन्त्री थापाको भनाई छ । नैतिक शिक्षामा मन्त्री थापाले जोड दिनुभएको छ ।
प्रविधिको विकास सँगै यसको सदुपयोग सही ढंगले नहुँदा बालबालिकाले पढाईप्रति ध्यान नदिने जस्तो प्रवृति मौलाएको र यस्तो समस्याको समाधान गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम