लेखनाथ महोत्सव–२०७८ सुरु

रासस
फागुन २६, २०७८
BP_GANDAKI

अर्थ मन्त्री जनार्दशन शर्मा कास्कीको लेखनाथस्थित डाँडाको नाकमा आजदेखि सुरु लेखनाथ महोत्सव–२०७बmउस८ को उदघाटन गर्नुहुँदै । तस्वीरः वासुदेव पौडेल

गण्डकी, २६ फागुन (रासस) ःअर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

लेखनाथ महोत्सव–२०७८ को आज कास्कीको लेखनाथस्थित डाँडाको नाकमा उद्घाटन गर्दै उहाँले राजनीतिक एवं संवैधानिकरुपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकामा जोड दिँदै उहाँले कोरोनाका कारण अर्थतन्त्रमा असर पारेको उल्लेख गर्नुभयो ।

कृषिमा चाँडो आत्मनिर्भर बन्नसक्ने देखिएको बताउँदै उहाँले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रले राष्ट्रमा ७२ प्रतिशत योगदान गरेको बताउँदै उहाँले यस क्षेत्रलाई सरकारले अंशियारका रुपमा लिएको धारणा राख्नुभयो ।

पोखरा पर्यटनको राजधानीका रुपमा रहेको चर्चा गर्दै उहाँले अझै पर्यटकीय पूर्वाधार भने पर्याप्त नरहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पूँजीगत खर्च गर्ने प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

आर्थिक समुन्नतिका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी रहेको बताउँदै उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमको वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नेगरी आयोजित लेखनाथ महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आर्थिक समुन्नतिका लागि एकताबद्ध प्रयास हुनुपर्ने बताउनुभयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले महोत्सवमा यो वा त्यो नभनी सबैको साथ र सहयोग भएको बताउँदै समाज एवं राष्ट्रको विकासका लागि पनि एकता जरुरी रहेको बताउनुभयो ।

कोरोनाका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत पुग्नेगरी नीति ल्याउनुपर्ने र घोषित कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग उहाँले गर्नुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सभापति शुक्रराज शर्माले समृद्ध गण्डकी प्रदेशको सपनासहित विभिन्न कार्यक्रमका साथ कांग्रेसले कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले निजी क्षेत्र चलायमान नहुँदा अर्थतन्त्र प्रभावित हुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र) कास्कीका अध्यक्ष बखानसिंह गुरुङ, नेकपा (एमाले)का उपाध्यक्ष तेजनारायण अधिकारी, नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वासुदेव पोखरेल, नेपाल इको प्यानलका सुवोध त्रिपाठी, लेखनाथ उद्योग वाणिज्य सङ्घका उपमहासचिव जानुका अधिकारीलगायतले महोत्सवको महत्वका बारेमा धारणा राख्नुभएको थियो ।

महोत्सव चैत ७ गतेसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै