– शर्मिला पाठक
काठमाडौँ, २८ साउन (रासस) ः नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ ।
कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो ।
दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन ।
फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आउनुभएकी रमिता लामाको भनाइ छ । उहाँका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन् ।
कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ ।
कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहर थुप्रिएकाले दैनिक जनजीवनमा असर परेको छ । कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहर सडक किनारामा हुँदा थुप्रिदा समस्या भएको हो ।
आजदेखि फोहर व्यवस्थापन
यही साउन २२ गते काठमाडौँ उपत्यकाबाट फोहर बोकेर अन्तिम व्यवस्थापन स्थल जाने क्रममा सिसडोलवासीले गाडी तोडफोड गरेपछि व्यवस्थापन हुन नसकेको फोहर आजदेखि पुनः सुरु भएको छ ।
काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई कहिले स्थानीयवासीको अवरोध, कहिले बाटोका कारण त कहिले गाडी तोडफोड हुँदा फोहर व्यवस्थापनमा समस्या आएको र आगामी दिनमा अन्य अवरोध सिर्जना नभए नियमितरुपमा फोहर व्यवस्थापन हुने बताउनुहुन्छ ।
पछिल्लो समय जटिल बनिरहेको उपत्यकाबाट उत्पादित कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचानको काम भइरहेको पनि कामपाले जनाएको छ ।
कामपाले अन्य स्थानीय तहसँगको सहकार्यमा कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।
उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहर व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहर व्यवस्थापन गर्न सकिनेछ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ ।
योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥याउँदा पटकपटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा समय लागेको हो ।
बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको छ । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल अन्य सम्भावित स्थान पहिचान गर्ने काम पनि जारी छ ।
यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपाका साथै अन्य स्थानमा पनि महानगरप्रमुख बालेन्द्र शाहको नेतृत्वमा जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उहाँले बताउनुभयो ।
फोहर स्रोतमै वर्गीकरण प्रभावकारी भएन
फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि कामपाले यही साउन एक गतेदेखि स्रोतमा नै फोहर वर्गीकरण गरी कुहिने र नकुहिने फोहर फरकफरक तरिकाबाट व्यवस्थापनको काम सुरु गरेको थियो ।
सुरुका केही दिनमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गरिए पनि अहिले सबै किसिमका फोहर एकै भाँडोमा राखेर आउने गरेको कामपाकै भनाइ छ ।
यसलाई आगामी दिनमा प्रभावकारी बनाउनका लागि नियमित अनुगमन गरी फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना गर्ने तयारी गरिएकोे छ ।
कामपाको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ ।
कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको छ । निजी संस्थाले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives