कास्कीको घान्द्रुक पदमार्गको हब बन्न सक्छ ः एक्याप प्रमुख कडरिया

राष्ट्र न्यूज सम्वाददाता
असाेज ४, २०८१
ghandruk pp 1

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताउनुभएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभामा बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्ने सक्ने बताउनुभयो ।
‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रोजाईको गन्तव्य बन्दै गइरहेको छ, घान्द्रुकलाई सास्कृतिक गाउँको रुपमा विकास गर्न सके अझै यसको महत्व बढ्न सक्छ’, कडरियाले भन्नुभयो, ‘घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे, हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा पर्यटकको रोजाईमा पर्छन् जसको कारण घान्द्रुक पदमार्गको हव बन्न सक्छ ।’
एक्याप प्रमुख कडरियाले घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै वन्यजन्तु संरक्षणमा विशेष ध्यान दिन समेत सुझाव दिनुभयो । ‘घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै घान्द्रुकलाई सांस्कृतिक रुपमा विकास गर्न सके अझै पर्यटकको आगमन बढ्न सक्छ’, उहाँले भन्नुभयो, ‘वन्यजन्तुलाई हामीले हानी नोक्सानी गर्ने रुपमा मात्र हेरेका छौं तर यसको संरक्षण प्रवद्र्धन गर्न सके चितवनमा हात्ती र चितुवा हेर्न जाने पर्यटकजस्तै यहाँ पाइने जंगली जनावर देखाउन पर्यटक ल्याउन सकिन्छ ।’
अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको विकासको लागि स्थानीय सरकार, एक्याप र स्थानीयको समन्वयमा काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप इलाका कार्यालय घान्द्रुकका पूर्व प्रमुख जगनसुब्बा गुरुङले घान्द्रुकको विकास र यहाँको संरक्षणको लागि संरक्षण क्षेत्र स्थापना भए सँगै स्थानीयहरुसँग समन्वय गर्दै आएको उल्लेख गर्नुभयो ।
साधारण सभामा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका सचिव माया पुन थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै साधारणमा सभामा अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका पूर्व कार्यालय प्रमुख जनगसुब्बा गुरुङ, घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा सबैभन्दा बढी विदेशी पर्यटकको शुल्क बुझाउने होटल ब्रिजका सञ्चालक सुवास गुरुङ र नेपाली गाइड (पोटर)को शुल्क बुझाउने होटल वल्ड भिलेज इनका सञ्चालक अमृत गुरुङलाई सम्मान गरिएको थियो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता भएको कार्यक्रममा सदस्य रामकुमारी परियारको स्वागत र सचिव माया पुन थापाले सञ्चालन गर्नुभएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives