पोखरा २२ लाई बालश्रम मुक्त बनाउने अभियानमा पोउवा संघ

राष्ट्र न्यूज सम्वाददाता
असाेज ९, २०८१
ward 22 (1)

पोखरा, ९ असोज । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत वडा नम्बर २२ मा सरोकारवालासँग छलफल गरेको छ ।
छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी पक्ष, वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको थियो । सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी पक्षबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभासद प्रकाश बरालले बालश्रम न्यूनीकरणका निम्ति उद्योग वाणिज्य संघले निभाएको भूमिका प्रशंसनीय भएको बताउनुभयो। निजी क्षेत्रले सामाजिक उत्तरदायित्वका साथै समाज सुधारको क्षेत्रमा पनि योगदान गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पोखरा २२ का जनप्रतिनिधिसहित टोल विकास संस्था, आमा समूह, बाल क्लब एवं अन्य नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष संजिव गुरुङले बालबालिकाको हितका लागि वडाले बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका तथा भूमिहीन नागरिकको बस्तीमा सिकाइ केन्द्रसमेत संचालन गर्दै आइरहेको छ । ती ठाउँहरुमा रहेका बालबालिका तथा युवाहरुलाई एकत्रित गरी बाल तथा युवा क्लब पनि गठन गर्दै रचनात्मक कार्य पनि हुँदै आएको केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनले बताउनुभयो । पोखराका विभिन्न ८ ठाउँमा रहेका ती केन्द्रहरुमार्फत् बालबालिकाहरुलाई गृहकार्य गर्न सघाउने तथा क्षमता अभिवृद्धिका लागि तालिम र विविध कार्य गरिँदै आएको उहाँको भनाइ छ ।
यसैक्रममा केन्द्रको कम्युनिटी हब परियोजनाअन्तर्गत गठित ९ वटै बाल क्लबका ३२ जना बालबालिकाहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको छ ।
सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालको प्रशिक्षण रहेको कार्यक्रमको संयोजन परियोजना सुभरभाइजर अन्जना कोइरालाले गर्नुभएको थियो ।
केन्द्रको पहलमा गठन भएका ८ वटा सिकाइ केन्द्रमा गठन भएका युवा क्लबका पदाधिकारीका निम्ति दुई दिने वृत्ति विकास तालिम पनि प्रदान गरिएको छ । तालिममा व्यक्तिगत विकास, उद्यमशीलता, स्वयंसेवाको अवधारणाबारे भक्तराज रसाइलीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ६४ जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै