अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

राष्ट्र न्यूज सम्वाददाता
असाेज १०, २०८१
IMG_0415

पोखरा, १० असोज । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताउनुभयो ।
‘मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मद्धत पुग्छ।’ मन्त्री थापाले तथ्याङ्कको विश्वसनियतामा शंका नआउने गरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउनुपर्ने आवश्यकतालाई औल्याउनुभयो ।
उहाँले तीनै तहको सरकार मिलेर नै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उल्लेख गर्नुभयो। घोकन्ते विद्या भन्दा पनि संस्कारमुखी शिक्षा आजको आवश्यकता रहेको उहाँको भनाई थियो । यसपालीको बजेटमा समेत व्यवसायिक र नैतिकवान शिक्षालाई जोड दिएको उहाँले बताउनुभयो ।
फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रम महत्वपूर्ण रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापाले सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको सर्टिफिकेटमा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेश स्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनियता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । मन्त्रालय अन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयहरुलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कान सहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गर्नुभयो । कार्यक्रम असोज १० र ११ गते दुई दिन सम्म चल्ने छ । कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुुखहरु र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives