प्रेम–शान्ति आख्यान पुरस्कार साहित्यकार समीपलाई प्रदान गरिने

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०८१
deepak sameep photo

साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ ।
नेपाली साहित्यको उन्नयनमा विशेष योगदान पु¥याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो ।
साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो ।
लमजुङ–पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थापित सो पुरस्कारको राशि १० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । आगामी मङ्सिर १५ गते शनिवार एक समारोहको आयोजना गरी साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिनुभयो ।
लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा क्रियाशिल रहनुभएको छ । हालसम्म उहाँको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) प्रकाशित छन् । उहाँले विभिन्न साहित्यिक पत्रिकाहरूको पनि सम्पादनसमेत गरिसक्नुभएको छ । मूलतः गजलकारका रूपमा परिचित उहाँ कविता, गीत, गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा पनि सक्रिय हुनुहुन्छ ।
साहित्यकार दीपक समीपले यसअघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार (२०५४), राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार (२०५५), खुला मुक्तक प्रतियोगितामा प्रथम (२०५५), गजल साधना सम्मान (२०६३), समता काव्य सम्मान (२०६६), शिल्पी साहित्य सम्मान (२०६६), स्रष्टा साहित्य चौतारी पुरस्कार (२०६८), गजल प्रतिभा पुरस्कार (२०६९), अक्षरयात्रा सम्मान (२०७०), गजल सन्ध्या सम्मान (२०७०), मुक्तक मञ्च पोखरा सम्मान (२०७३), गजल मञ्च मकवानपुर सम्मान (२०७४), लेखक कृति पुरस्कार (२०७९), बहादुरानन्द स्मृति मुक्तक सम्मान (२०८०), अभिलेख सम्मान (२०८१) प्राप्त गरिसक्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग