रञ्जन अधिकारी पोखरा, १० असोज / साँघुरो बाटो । अलिक टाढा टिनको छाना भएका घरहरु लहरै छन् । केहि हुल मानिसहरु बेलाबेलामा भित्र छिरेका देखिन्थे । कसैका मुखहरुमा ‘बुद्धको घर’ शब्द झुन्डिन्थे । अरु दिनभन्दा पोखरा बास्तोलाथरको त्यो भित्री सडक बढि नै व्यस्त थियो । किनकि उही हिजो कमैले चिन्ने, आज कमैले नचिन्ने ‘नेपाल आइडल’ बुद्ध लामाको घर त्यहीं पर्दछ । मध्यरातमा नेपाल आइडल उपाधि जितेको खबरपछि बुद्धको घर मिडिकर्मी मात्र होईन, आफन्त, शुभेच्छुकले घेरिए ।
बुद्धका बाबुआमालाई बधाई दिनेहरु बिहानतिर ओहिरिए । ठाउँ साँघुरो, दुवैतिर टिनका छाना, सुकुम्बासी बस्तीको झल्को दिने त्यो ठाउँमा ढोका बाहिरै केक काटेर बुद्धका गुरु, जिताउ अभियन्ता, समर्थकले खुशीयाली मनाए । उसो त बुद्धको परिवार त्यहाँ भाडामा बस्दै आएका हुन् । २०४६ सालमा धादिङबाट बुद्धका बाबुआमा पोखरा आएका हुन् ।
बुबा सन्तबहादुर, आमा सन्तमाया प्रफुल्लित मुद्रामा देखिन्थे । निमोनियाले अस्वस्थ भएका दाइ दोर्जे कोठाको झ्यालबाटै बाहिर चिहाउँथे । बुद्धकै अनुहार परेको दिदी आँचल आफन्तसँगै ब्यस्त थिईन् । बुद्ध जन्मेदेखि यो उपलब्धिसम्मको फेहरिस्त बताउन परिवारलाई शनिबार दिनभर जसो नै भ्याई नभ्याई थियो । नेपाल आइडल बन्नु अघि नै पोखरामा केहिले चिन्ने नाम बनिसकेको थियो ‘बुद्ध’ । पाँच वर्ष अघि बिग आइकनमा सहभागी हुँदा चौथो बनेका बुद्ध यो ठाउँमा पुग्नेमा निर्णायकहरु ढुक्क थिए । उही बेला सुनिल थापाले बुद्धलाई भनेका थिए ‘बुद्ध लामा सानो पटका, ठूलो धमाका हुन् ।’ आखिर त्यो सानो पटाका अहिले आवाजको ठूलो धमाका बनेर विस्फोट भए । आयोजक बिग एफएमका अध्यक्ष महेश भण्डारीले त्यसैबेला उनको प्रस्तुतिपछि भनेझैं पोखरा बुद्ध लामाको पनि शहर भनेर अहिले चिनिन पुगेको छ ।
आफ्नो छोरो नेपाल आइडल भएको हेर्ने चाहना हरेक आमाबाबुलाई हुने नै भयो । शुक्रबार जब राति हुँदै गयो, सन्तबहादुरको आश मर्दै गयो । किनकि टेलिभिजनमा कतारको स्टेज होईन, केहि दिन अघिको टुँडिखेल देखाईरहेको थियो । ‘टिभीमा पुरानो मात्र देखायो । कता फेसबुकतिर आउँछ भन्थे, सादा मोबाईलमा के हेरौं ? थिएन ।’ निरक्षर उनी थप्छन्– ‘राति पौने दुई बजे बुद्धले नै फोन गरेर बा म जितेँ, नेपाल आइडल भए नि भनेपछि म त यत्ति खुशी त भईनँ ।’
केहि मिनेट ढिलै भएपनि उनीहरुलाई फरक परेन किनकि यति ठूलो खबर आफ्नै छोरोको मुखबाट पहिलोपटक सुन्न पाए । ‘झण्डै बेहोस् हुन लागेको । मन ढुक ढुक भयो । रुन मन लाग्यो । अचम्मै भयो नि ?’ – सन्तबहार शान्त बने– ‘नजितेको भए पनि के गर्ने त ? यति धेरै माया पायो । सबैले चिनेको त अस्ति एक छिन आउँदैमा थाहा थियो ।’
उनले पोखरादेखि धादिङसम्म, तामाङ समाजदेखि क्षेत्री ब्रँह्मण समाज सम्म सम्झिए । ‘आज मृरो छोरोले सबैको कृपाकै कारण जित्या त हो । जितेर आउ भनेर पठाएको थिएँ । हाम्रो त आशिर्वाद मात्र थियो ।’ उनले भने– ‘दुनियाँको भाडा मैले कहिले तिरुँला । पोखरा समाज, मेरो धादिङ समाज, तामाङ समाज, गुरुङ समाज, बाहुन समाज, क्षेत्री समाज सबैलाई धन्यवाद छ ।’
उनले खुशीमा काममा पनि नगएको सुनाए । ‘सबले पार्टी खुलाउनुपर्छ भन्थे । रोपेको फल पहिले फलोस्, पाकेको फल खाम्ला नि भन्थेँ । अब खुलाम्छु नि । ’ खित्का छाडेर हाँसे । पोखरा लेखनाथ महानगरपालिकाको सरसफाई विभागमा रहेर पोखरालाई २५ वर्षदेखि सफा गर्दै आएका सन्तबहादुरको दुःखको दिन अब सकिए जस्तो भान हुन्छ । झण्डै तीन दशक अघि धादिङको लापा ३ कपुरगाउँ (हाल रुबीभ्याली ५) छाडेर आएका उनले दुःख त्याग्न सकेनन् । पोखरामा ओत लगाउने झुप्रो समेत ठड्याउन सकेनन् । उनले थपे – ‘धादिङबाट भोट गर्नेहरुले मन दुखाउनुभाछरे भन्ने सुनेँ । धादिङकै नागरिकता छ बुद्धको पनि । आफ्नो ठाउँ कहाँ बिर्सनु ? धादिङ समाजले पनि सहयोग गरेको छ ।’
आमा सन्तमायालाई छोराछोरी दुःख पाउँछन् कि भनेर सधैं पिर लाग्थ्यो । अब बुद्धको पिर टरेको छ । ‘अब पढाउन नसकेपनि भोकले मर्दैन । पाँच महिना अघि पोखराबाट गयो । कहाँ सुत्यो होला? भोकभोकै छ कि ? अझै पनि लाग्छ । आफू नखाएर हुर्काको छोरो हो । ’ आमाको ममता पोखिन्– ‘बराल गुरुकहाँ बोकेरै पु¥याउँथे । जहाँ गएपनि च्याम्पियन । पढाई पनि राम्रो । कहिले कराँते मा जान्छु, गायक बन्छु भन्छ । जे सोच्छ त्यो पूरा हुन्छ । मेरो कान्छो काखमै छ जस्तो लाग्छ ।’ पाँच महिनामा एक छिन घर आउँदा पनि १० मिनेटमै सरहरुले लिएर हिँडेपछि मन नै कटक्क खाएको उनले सुनाईन् । यतिबेला उनले छोरो काठमाण्डौमै भेटिसकेकी छिन् ।
सन्त दम्पतीलाई जित्न पैसो पेल्नुपर्ने थाहा भएपछि हुँदैन होला जस्तो लागेको थियो । ‘हामी त कहाँ सक्छम् त नि ? गरे सबैले । दिनभर कमाएर बेलुका खानुपर्छ । यस्तो टिनको एउटा कोठा, त्यो पनि भाडामा बस्नुपर्छ । जिन्दगी भाडामै बित्यो जस्तो लाग्थ्यो ।’ सन्तमायाले थपिन्– ‘आशा टुटेको थियो । छोराहरुलाई मैले के गर्ने ? कस्तो जिन्दगी पाएछु जसतो लाग्थ्यो । छोराहरुलाई केहि गर्न नसक्ने भएँ भनेर रुन्थेँ । आशा डुलेको थियो ।’ सन्तमाया अरुका घरमा कपडा धुने, भाँडा माझ्ने गरेर घरको गर्जो टार्थिन् ।
सन्तबहादुर र सन्तमायाका कान्छो छोरो बुद्ध नाम जस्तै शान्त स्वभावका छन् । उनले कसैलाई पिरेनन् । कोहिसँग रिसाएनन् । यही भन्छन्, उनका बुबाआमा, गुरुजन, साथीभाइ । एउटा दाइ विदेश छन् । अर्को दाइ दोर्जे अहिले बिरामीले थलिएका छन् । दिदी धनमाया (आँचल) सँगै छिन् । भिनाजु बुद्धलाई बोकेर हिँड्छन् । बुद्धका हरेक अभावलाई पूर्ति गर्ने उनै भिनाज मनोज बास्तोला हुन् । बुद्धको पहिलो खुसी भिनाजुसँगै कतारमै साटे ।
बुद्धका बाबुआमाले बुद्धभन्दा बढि प्रशंसा आफ्नै ज्वाईं मनोजकै गर्छन् । ‘कहिल्यै केहिमा कमी हुन दिएनन् । सबै ईच्छा पूरा गर्ने भिनाजु नै हो । गितारदेखि खेलकुदका सामानसम्म ।’ बुद्धकी आमा सन्तमायाले भनिन्– ‘दिदी भिनाजुकै कारण बुद्धले खुट्टा टेके । जे पनि भेनाले पु¥याउँथ्यो ।’ रेडक्रसमा लागेर सेवाभावमा समर्पित बुद्ध एसएलसी पास गरेको महेन्द्र उमाविमै पढ्दै आएका छन् ।
बुद्ध बिग आइकनपछि पोखरामै संगीत सिकेरै बसे । पहिले तीन वर्ष त्रिवेणी संगीतालयमा नबराज बरालको प्रशिक्षणमा रहेका बुद्ध पछिल्लो समय गुरुकुल संगीतमा तीर्थराज पोखरेलसँग संगीत सिक्दै थिए । बुद्ध जिताऔं अभियानको नेतृत्व गरेर हिँडेका गुरुद्वय अहिले हर्षविभोर छन् । अहिलेजस्तो खुशी कहिल्यै नमानेको सुनाउँछन् ।
नेपाल आइडलमा सहभागी हुनुपूर्व उनी पोखराकै सबैभन्दा पुरानो दोहोरी साँझ ‘पोखरा दौतरी साँझ’मा ८ हजार मासिक तलबमा गीत गाउँथे । झण्डै दुई वर्ष गीत गाएका उनी कोहिसँग नराम्रो भएनन् । गीत गाउने भएपनि बाद्यवादक नआउँदा सबै प्रकारका बाजा बजाउने क्षमता बुद्धमा छ । सञ्चालकद्वय बीरेन्द्र केसी र निर्मल भण्डारी पनि बुद्धलाई जिताउन उसैगरि तात्तिए ।
नेपाल आइडलमा पहिलो अडिसनदेखि नै निर्णायकहरुको मनमा बसेका बुद्ध टप १८ देखि टप ३ छनौटसम्म एक पटक मात्र डेन्जर जोनमा परे । उनलाई देश विदेशबाट उल्लेख्य भोट आयो । विदेश बस्नेहरुबाट अनलाईन भोटिङमा उनले सबैलाई माथ गरे र ग्राण्ड फिनालेमा कूल प्राप्त भोटमा आधा बढि भोट बुद्धकै नाममा रह्यो र बुद्धले इतिहास रचे ‘पोखराका बुद्ध पहिलो नेपाल आइडल’ ।
Related News
सम्बन्धित समाचार
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
पोखरामा ‘हल्कारा’को हाउसफूल
संचारकर्मी हुँदै सुदीप निर्माता
पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक
Archives
Archives