१७ माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
नेपाल पञ्चांग निर्णायक समिति नेपालका अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ ।
ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिए ।
‘शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हाँस्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नहुन्छ’,’उनले भने ।
धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।
यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । ‘बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ’, उनले भने ।
चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।
स्रोत ः अनलाइनखबर
Related News
सम्बन्धित समाचार
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
Archives
Archives