दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’ (फोटो फिचर)

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Dari Gang Blood

रञ्जन अधिकारी पोखरा, ३० साउन / सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व र अन्तिम साउने सोमबार । पोखराको लेकसाईड स्थित पवित्र धार्मिकस्थल केदारेश्वर महादेव मन्दिरमा सबेरैदेखि भक्तजन उर्लिए ।

अन्तिम साउने सोमबार र कृष्णजन्माष्टमी परेकाले रक्तदान कार्यक्रम स्थल नजिकै केदारेश्वर मन्दिर गेटमा भक्तजनको भिड

मन्दिरमा पूजा गर्नेहरु छिर्ने गेट छेवैमा लामा लामा दारी पालेकाहरुले अर्को मन्दिर खडा गरे । जहाँ अबिर, फलफूल, नैवेद्य लैजानुपर्दैन थियो । स्वस्थ शरिरका साथ आफू मात्र पुगे हुन्थ्यो ।

दारी सौखिन युवाहरुको फेसबुक समूह ‘दारी ग्याङ’ ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर तथा बाढीपहिरोका समयमा रक्त अभाव हुन नदिन रक्तदान कार्यक्रमको चाँजोपाँचो मिलाएका हुन् । उसो त दारी ग्याङको वार्षिक रक्तदान कार्यक्रम हो । गत वर्ष साउन २९ मा आयोजित रक्तदान कार्यक्रममा रक्तदाताको संख्याले सेन्चुरी नाघेको थियो अर्थात् १०३ युनिट रगत संकलन भयो । यस पटक १६५ जनाले रक्तदान गरे ।

दारी पालेका युवाहरुको सो समूहले गरेको रक्तदान कार्यक्रममा शिव पुजन गर्न पुगेका युवतीहरुले समेत रगत दान गरे । काठमाण्डौकी सुजाता गोपालीलाई रक्तदान नगरी फर्कन मनै मानेन । रक्तदान गरेपछि आराम गरिरहेकी सुजाताले मन्दिरमा पूजा गरेपछि रक्तदान गरेर दोहोरो धर्म कमाएको सुनाईन् । ‘हामी साथीहरु सबै मिलेर मन्दिरमा पूजा ग¥यौं । बाहिर गेटमा रक्तदान भईरहेको देख्दा देख्दै यस्तो सिधै धर्म लाग्ने काम छाडेर हिँड्नै मन लागेन ।’ सुजाताले हाँस्दै भनिन् – ‘रक्तदान त जसले पनि आयोजना गर्छन् । तर मन्दिरको गेटमै यतिका भक्तजनको अगाडि यस्तो कार्यक्रम गर्दा सकारात्मक सन्देश गएको छ ।’ काठमाण्डौ मनमोहन मेमोरियल ईस्टिच्युट अफ हेल्थ साईन्समा अध्ययनरत सुजाता सहितका साथीहरु फिल्ड भिजिटका लागि पोखरा आएका हुन् । उनले तेस्रो पटक रक्तदान गरिन् ।

रक्तदानपछि प्रमाणपत्र लिँदै काठमाण्डौकी सुजाता गोपाली ।

शान्ति लामिछाने र पवित्रा शर्माले पनि मन्दिरमा पूजा गरेपछि रक्तदान गरे । शान्तिले भनिन्– ‘भगवानप्रति त आस्था हो । धर्म भन्ने कुरा विश्वास हो । रक्तदान जस्तो धर्म अरु के होला ? त्यो पनि मुलुक यति विपत्मा परेको बेला ।’ पवित्राले दारी पाल्ने युवाहरुको काम देखेर आश्चर्यचकित् परेको बताईन् । ‘दारी पाल्ने देखेर डर लाग्थ्यो । जिवनदेखि विरक्तिएका, अल्छीहरु भन्ने लाग्थ्यो’– उनले भनिन्– ‘आज यस्तो पवित्र दिनमा पवित्र काम गरेका छन् । साथ दिउँ भनेरै रक्तदान गरेको हुँ ।’

यसअघि रक्तदान कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य संघ प्रदेश नं. ४ का अध्यक्ष सञ्जिव बहादुर कोईरालाले पहिलो रक्तदाता विक्रम तिमिल्सिनालाई ब्लड ब्याग हस्तान्तरण गरी गरेका थिए । अध्यक्ष कोईरालाले युवाहरुको पुण्य काम भन्दै यसले समाजमा सकारात्मक सन्देश जाने बताए । सो अवसरमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल, जनप्रिय बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भेषराज बराल, सिद्धार्थ क्याम्पस सभापति प्रतिष्ठा कार्की लगायतका अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए ।

दारी ग्याङ पोखराका संयोजक शेखर गौतमले कार्यक्रम सोचेभन्दा राम्रो भएको बताए । दारी ग्याङको विभिन्न सामाजिक तथा रचनात्मक कामले गर्दा अब नौलो नरहेको भन्दै उनले साथीहरुको सहकार्यले अझै सामाजिक उत्तरदायित्व वहन गर्न दारी ग्याङ सक्षम रहने बताए । कार्यक्रमको सञ्चालन दारी ग्याङ पोखराका मेम्बर विक्रम पाण्डेले गरेका थिए ।

गत वर्ष असारमा पोखरामा सक्रिय बनेको दारी ग्याङ पोखराले विभिन्न पटक रक्तदान कार्यक्रमका साथै ट्राफिक सचेतना, विद्यालयमा सहयोग हस्तान्तरण, विपत्मा परेकाहरुलाई आर्थिक सहयोग संकलन गरी सहयोग प्रदान गर्दै आएको छ ।

अफिसियल तस्विरः सविन न्यौपाने

Related News

सम्बन्धित समाचार

Archives

Archives