खेलकुद पत्रकार मंच कास्कीको अध्यक्षमा पाठक, सचिवमा रञ्जनको जीत

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Ranjan

पोखरा, २१ जेठ / नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको शुक्रबार पोखरामा सम्पन्न विशेष अधिवेशनले केशव पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाठकले अध्यक्षका प्रतिष्पर्धी सन्देश श्रेष्ठलाई एक मत अन्तरले पराजित गरी आगामी तीन बर्षको लागि निर्वाचित भएका हुन् । मञ्च कास्कीमा ४२ मतदाता सङ्ख्या रहेकोमा ३५ भोट खसेको मध्ये पाठकले १८ र श्रेष्ठले १७ मत ल्याएका हुन् । पाठक संस्थापक सचिव हुन् भने श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उपाध्यक्षमा दिननाथ बराल निर्विरोध चयन भए । सचिवको लागि त्रिपक्षीय प्रतिष्पर्धा भएकोमा रञ्जन अधिकारी विजयी बने । कार्यवाहक कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीले १५ मत प्राप्त गर्दा सचिवका प्रत्यासीद्वय मन क्षेत्रीले ११ र रोहितराज पराजुलीले ९ मत ल्याए । अधिकारी आदर्श समाज राष्ट्रिय दैनिक, बिग एफएम, खेलदैनिक, गोलनेपाल डटकम, मज्जाको न्युज र गण्डकन्युजसँग आबद्ध छन् । अन्य पदहरु भने सर्वसम्मत् रुपमा चयन भएको हो । कोषाध्यक्षमा विजय नेपाल र सहसचिवमा अर्जुन गिरी बाहेकको उम्मेदवारी परेन । ११ सदस्यीय समितिका सदस्यहरुमा सुरज श्रेष्ठ, उमेश पुन, सुरेन कुमार शुशिल, नारायण शाही, गिता राना र लक्ष्मी जिसी चयन भएका छन् ।

मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको राजीनामापछि ६ महिनाभित्रमा अधिवेशन गरी नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने भएकाले शुक्रबार विशेष अधिवेशन भएको हो ।  नयाँ नेतृत्वका चयनका लागि निर्वाचन सम्पन्न गर्न मंचका केन्द्रीय अध्यक्ष महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो । सदस्यमा पत्रकार महासंघ केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेल र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल रहेका थिए । मञ्चले यही जेठ १ मा पोखरामै पहिलो पटक आयोजना गरेको स्पोर्टस् अवार्ड–२०७२ ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो ।

यसअघि मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद पत्रकारहरु मर्यादित रहनुपर्ने र राजनीतिक दलहरुको कुनै प्रभाव नहुने गरी एक जुट हुनु पर्नेमा जोड दिए । मञ्चका नेपालमा ९ वटा समन्वय शाखा मध्ये पोखरामा भएको स्पोटर्स अवार्ड अन्य क्षेत्र भन्दा उत्कृष्ट भएको दाबी गरे । अवार्ड समारोहलाई लाई निरन्तरता दिनु पर्नेमा उनको जोड थियो । मञ्चमा कुनै राजनीति भए केन्द्रले हस्तक्षेप गर्ने उनले चेतावनी दिए ।

उद्घाटन सत्रमा नेपाल ओलम्पीक कमिटिका सदस्य एवं नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट, प्रेस स्वतन्त्रताका सेनानि बरिष्ठ पत्रकार वद्रीविनोद प्रतिक, मञ्च केन्द्रका निवर्तमान अध्यक्ष अजय फुँयाल, मञ्च कास्कीका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बोलेका थिए । यस्तै, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत सुर्य थपलिया  सहारा क्लबका अध्यक्ष विरभद्र आचार्य, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवि पोखरेल, तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं आईस हक्की संघका केन्द्रीय उपाध्यक्ष मदन केसीले पनि शुभकामना मन्तव्य व्यक्त गरे ।

मञ्च कास्कीका कार्यवाहाक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिननाथ बरालले प्रस्तुत गरेको प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष रञ्जन अधिकारीले पेश गरेको हालसम्मको आयव्यय प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा सहसचिव अर्जुन गिरीले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives