यौनककर्मी महिलाको जिन्दगी: उमेर हुन्जेल मोजमस्ती, उमेर ढल्केपछि डिप्रेशन !

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
sex-worker-660×330

कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने कमला यतिखेर रक्सीको सहारामा बाँचेकी छिन् । उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् ।

राजधानी र अन्य सहरका अधिकांश यौनकर्मीहरू ३०, ३५ उमेर कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी छउन्जेल भने जति पैसा पाउने यौनकर्मीको मोल उमेर ढल्कँदै गएपछि ओरालो लाग्न थाल्छ र उनीहरूमा सुरु हुन्छ डिप्रेसन ।

राजधानीमा मात्र अहिले कम्तीमा पनि २५ हजार यौनकर्मी रहेको अध्ययनले देखाएको छ । उनीहरूमध्ये ३५ काटेका यौनकर्मीमध्ये आधाभन्दा बढीमा डिप्रेसनको समस्या रहेको यौनकर्मीहरूको क्षमता अभिवृद्धि लगायतका काममा कार्यरत संस्थाहरूको दाबी छ ।

अधिकांश यौनकर्मी २५ वर्षसम्मको उमेरसम्म मोटो रकम कमाउँछन् तर जुन बाटोबाट आउँछ ठीक त्यसैगरी खर्च गर्छन् । “माहोल नै यस्तो हुन्छ कि जवानी ढलेपछि कमाइ घट्ने भन्ने हेक्का नै हुँदैन ।” कमलाले भनिन् ।

खासगरी उमेरको चढावसँगै उनीहरूको ठाउँमा कम उमेरका महिलाहरू भित्रिने, पहिलाजस्तो आम्दानी नहुने र सजिलो पैसामा बाँच्ने बानी विकास भएको हुँदा जीवनप्रति निराशा बढन गएर रक्सी र केहीले लागूऔषधको समेत सहारा लिने गरेको उनीहरू बताउँछन् ।

यौनकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत यौनकर्मी महिलाहरूको संस्था जागृति महिला महासंघका अनुसार, अहिले ठूलो संख्यामा यौनकर्मी डिप्रेसनको सिकार भएका छन् । चिकित्सकहरूका अनुसार यौन पेसामा लाग्ने महिलाहरूमा उमेर ढल्किँदै गएपछि निद्रा नलाग्ने, एकान्तमा बस्न मन पराउने, नसालु पदार्थ सेवन गरेर लठ्ठ पर्नेजस्ता लक्षण देखिने गर्छन् ।

यो तनावले गर्दा उमेर ढल्कँदै गएका यौनकर्मी महिलाले ग्राहक नपाउने र पैसाका लागि बिना कन्डम पनि यौनसम्पर्क राख्न बाध्य हुनुपर्ने हुँदा एचआईभीको बढी जोखिममा पर्ने सम्भावना समेत हुन्छ । ग्राहकले बिनाकण्डम यौनसम्पर्क राख्न दिएमात्र पैसा तिर्ने सर्त राख्ने भएकोले उनीहरू पेटका लागि बाध्य हुने गरेको ।

विडम्बनाको कुरा, सुरक्षित यौनका क्षेत्रमा बग्रेल्ती संस्थाहरूले कुरा गरे पनि नियतिले ठगिएका यौनकर्मीहरूका यी समस्याका बारेमा उनीहरू केही संस्थाहरूबाहेक अरू कसैले चासो लिएका छैनन् । साना बालबालिका बोकर लैजानुपर्ने बाध्यता यौनकर्मी महिलाहरूलाई व्यवसायमा जाँदा सानासाना बालकसँगै बोकेर लैजाने बाध्यता अर्कोतर्फ रहेको छ । बालबालिका आफूसँगै लैजाँदा त्यसको असर उनीहरूको बाल मस्तिष्कमा पर्ने भएकाले बालबालिका अन्तै राखेर व्यवसायमा जान चाहे पनि राख्ने उचित स्थानको अभाव रहेको हुन्छ ।

फलस्वरूप, आमाले गर्ने व्यवहार नै बालबालिकाले सिक्ने डर उनीहरूलाई लागिरहन्छ । यौनकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत यौनकर्मी महिलाको संस्था जागृति महिला महासंघका अनुसार काठमाडौंमा मात्र बच्चा बोकेर यौन व्यवसाय गर्ने महिलाको संख्या एक हजारभन्दा बढी छ ।

उनीहरूमध्ये अधिकांशका दुईदेखि तीन वच्चा छन् । यसरी हेर्दा दुईदेखि अढाइ हजार बच्चाले हरेक दिन आमासँगै यौनकार्यमा जानु परेको छ । जागृतिकी कार्यक्रम अधिकृत शान्ति तिवारीका अनुसार यौनकार्यमा लागेकामध्ये ८० प्रतिशतभन्दा बढी विवाहित छन् । २४ वर्षमुनिका ७५ प्रतिशत छन् ।

यौनकर्मीका बालबालिका पनि भविष्यका कर्णाधार हुन् । उनीहरूले पनि पढ्न, लेख्न पाउनुपर्छ । अधिकांश यौनकर्मीसगँ नागरिकता छैन । नागरिकता नहुँदा बच्चा स्कुल भर्ना हुन पाएका छैनन् । यौन व्यवसायमा बच्चा बोकेर जाँदा उनीहरूले पनि त्यही पेसा सिक्ने सम्भावना छ । त्यसैले ती बालबालिका लागि कम्तीमा पनि पाँच वर्षमुनिका बच्चा राख्ने ठाउँ व्यवस्था भए हुन्थ्यो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives